काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको भन्ने रास्वपा सांसद सोबिता गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएको टोलीका केही सदस्य नफर्किएको समाचार आएको उल्लेख गरेकी थिइन्।
उनको भनाइप्रति प्रतिक्रिया जनाउँदै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उक्त आरोप निराधार, कपोकल्पित र भ्रामक रहेको दाबी गर्दै संसदको रेकर्डबाट हटाउन माग गरे। साथै उनले गौतमलाई को-को नफर्किए भन्ने स्पष्ट नाम सार्वजनिक गर्न चुनौती पनि दिए।
बैठकमा सरकारको जवाफ आउनु पर्ने विषयमा दलहरूबीच असहमति देखिएको थियो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूले सरकारलाई सोधेका प्रश्नको जवाफ मन्त्री वा प्रधानमन्त्री स्वयंले दिनुपर्नेमा जोड दिए।
उनले सरकारको दबाबमा संसद्को कार्यसूची परिवर्तन गरिएको आरोप पनि लगाए। “संसद्को कार्यशैली हेपाह प्रवृत्तिमा आधारित हुँदै गएको छ,” पाण्डेले भने, “यसले संसदीय गरिमा कमजोर बनाउँछ।”
बैठकमा उत्पन्न बहसले स्पेन भ्रमणबारे उठेको प्रश्न र त्यसको जवाफ कसले दिने भन्ने विषयमा दलहरूबीचको भूमिकामाथि बहस चर्किएको छ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया