काठमाडौँ । रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई उतै छाडिएको भन्ने अभिव्यक्ति दिएपछि संसद्मा विवाद चर्किएको छ। उक्त विषयमा एमालेले कडा आपत्ति जनाउँदै गौतमको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठक सुरु भएपछि सांसद गौतमले पछिल्ला केही ‘भिजिट भिसा’ प्रकरणको चर्चा गर्दै स्पेन भ्रमणका बेला पनि यस्तै घटना दोहोरिएको भन्दै प्रश्न उठाएकी थिइन्। उनको अभिव्यक्ति लगत्तै रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
केही समयपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले उक्त अभिव्यक्ति तथ्यहीन र भ्रामक भएको दाबी गर्दै रेकर्डबाट हटाउन सभामुखसमक्ष माग राखे। “प्रधानमन्त्रीज्यूलाई मुछेर कपोकल्पित र निराधार आरोप लगाउनु गलत हो,” उनले भने, “यदि कसैले फर्किएनन् भने नामसहित संसदमा जानकारी दिइयोस्।”
बर्तौलाले गौतमलाई भ्रमण टोलीमा को–को थिए र को–को फर्किएनन् भन्ने प्रमाणसहित संसद्मा जवाफ दिन आग्रह गरे। साथै, यस्तो गम्भीर विषयलाई बिना प्रमाण उठाउनु संसद्को गरिमा विरुद्ध भएको बताए।
प्रधानमन्त्रीमाथिको आरोपको खण्डन गरेपछि माओवादी केन्द्रले पनि आपत्ति जनाउँदै सत्ता पक्षका सांसदले सरकारको ठाउँमा जवाफ दिन नहुने तर्क गरेको छ। माओवादी सचेतक हितराज पाण्डेले भने, “सरकारलाई सोधिएको प्रश्नमा सांसदहरूले जवाफ दिन मिल्दैन। मन्त्री वा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ।”
सभामुख देवराज घिमिरेले सबै सांसदलाई जिम्मेवार भएर अभिव्यक्ति दिन आग्रह गर्दै उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराए।
सांसद गौतमले प्रधानमन्त्रीको नेतृत्वमा गएको टोलीका केही सदस्य नफर्किएको विषयमा समाचार सार्वजनिक भइरहेकाले गम्भीर छानबिन आवश्यक रहेको बताएकी छन्। उनले यस्तो गम्भीर विषयमा सरकारकै मातहतको कनिष्ट कर्मचारीलाई राखेर बनाइएको समितिले न्याय गर्न नसक्ने बताउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेकी हुन्।
उल्लेखनीय छ, प्रधानमन्त्री ओली असार १६ देखि २० गतेसम्म संयुक्त राष्ट्रसंघको आयोजना रहेको ‘विकासका लागि वित्त शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए। भ्रमणपछि टोली २० गते नै स्वदेश फर्किएको सरकारको दाबी छ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया