काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच जर्मनीको बर्लिनमा आज द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। वार्तामा नेपाल–जर्मनी सम्बन्ध, साझा हितका विषय, व्यापार, लगानी, पर्यटन, हवाई सेवा, जलवायु परिवर्तन, र बहुपक्षीय मंचमा सहयोगबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री डा. राणाले जर्मनीलाई नेपालको दीर्घकालीन विकास तथा व्यापारिक साझेदारका रूपमा प्रशंसा गर्दै निरन्तर सहयोगका लागि जर्मन सरकार तथा जनताप्रति आभार प्रकट गरिन्। उनले नेपालमा रासायनिक मल कारखाना जस्ता क्षेत्रमा लगानीका लागि जर्मनीलाई आह्वान गर्दै निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्न जोड दिइन्।
नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको भन्दै मन्त्री राणाले यो रूपान्तरण सहज बनाउन रणनीति निर्माण भइरहेकाे बताइन्। उनले स्तरोन्नतिपछि पनि स्रोत, प्रविधि र वित्तीय सहयोगको लागि जर्मनी तथा अन्य साझेदारहरूको निरन्तर समर्थन अपेक्षित रहेको स्पष्ट पारिन्।
नेपालले संयुक्त राष्ट्रसंघका तीन महत्वपूर्ण निकाय-मानवअधिकार परिषद् (२०२७-२९), आर्थिक तथा सामाजिक परिषद् (२०२९-३१) र सुरक्षा परिषद् (२०३७-३८) का लागि उम्मेदवारी दिएको जानकारी दिँदै उनले जर्मनीबाट समर्थनको आग्रह गरिन्, जसमा जर्मन विदेशमन्त्रीले सकारात्मक सहयोगको प्रतिबद्धता जनाए।
दुई देशबीचको पर्यटन सम्भावनालाई प्रभावकारी बनाउन मन्त्री राणाले नेपाल–युरोप प्रत्यक्ष हवाई सेवा सुरु गर्न आग्रह गरिन्। उनले नेपाली एयरलाइन्सहरूमाथिको युरोपियन युनियनको प्रतिबन्ध हटाउन जर्मनीले पहल गर्नुपर्ने माग राखिन्। यस सन्दर्भमा डा. डेविडले आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया