काठमाडौं । अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङमा लघु जलविद्युत आयोजना, पुल र घरहरुमा क्षति पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो ।
बुधबार बिहानपख आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिए । आयोजनाका प्राविधिक रामबहादुर क्षेत्रीले रातीनै भागेर ज्यान जोगाएको बातए । खोलामा बाढी आएपछि रातको समयमा स्थानीयको भागाभाग भएको थियो । खोलाले गतवर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल समेत बगाएको स्थानीयको भनाइ छ ।
बाढीले केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ । स्थानीय विद्युत आयोजना बग्ने र केन्द्रीय विद्युतको प्रसारण रोकिएपछि पैयुथन्थापका एक सय ३० घर अन्धकारमा छन् ।
बाढी घरघरमै पसेपछि पैयुथन्थापकै खरेयाबोटका दुई घर परिवार विस्थापित भएका छन् । बाढीले खोला छेउका खेतीयोग्य जमिनमा केही दिनअघि लगाइएको धानबाली सखाप पारेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
बाढीका कारण भएको क्षतिको विवरण आउन अझै बाँकी छ । बागलुङमा अहिले पनि भीषण वर्षा भइरहेको छ । घटनास्थलमा प्रहरीतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले बताए ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार













प्रतिक्रिया