काठकाडाैं। भारतको गुजरात राज्यमा रहेको एक पुरानो पुल बुधबार बिहान अचानक भाँचिँदा ठूलो दुर्घटना भएको छ। महिसागर नदीमाथि बनेको गम्भीरा पुलको बीचको भाग भाँचिएपछि केही सवारीसाधन नदीमा खस्दा दुई जनाको ज्यान गएको छ भने अरू हराइरहेका छन्।
वडोदरा र आनन्द शहरलाई जोड्ने उक्त पुल करिब ४५ वर्ष पुरानो भएको बताइएको छ। पुल भाँचिँदा दुईवटा मालवाहक ट्रक, एक बोलेरो जीप र अन्य सवारी नदीमा खसेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।
दुर्घटनापछि घटनास्थलमा पुगेका उद्धार टोलीले हालसम्म दुई जनाको शव फेला पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हराइरहेका अन्यको खोजी कार्य जारी छ।
भारतीय कांग्रेस पार्टीका नेता तथा गुजरात विधानसभाका विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत सरकारलाई तत्काल उद्धार र राहत कार्य तीव्र बनाउन आग्रह गरेका छन्। साथै, उनले यातायातका लागि वैकल्पिक व्यवस्था मिलाउन पनि सुझाव दिएका छन्।
स्थानीय प्रशासन, प्रहरी र राष्ट्रिय विपद् प्रतिकार्य बल (NDRF)को टोली घटनास्थलमा खटिएको छ। घटनाले पुलहरूको सुरक्षाप्रति प्रश्न उठाएको छ भने स्थानीयवासीमा डर र आक्रोश फैलिएको छ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार













प्रतिक्रिया