झापा । झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरेमा सामूहिक कुटपिटबाट २२ वर्षीया एक युवतीको ज्यान गएको छ। मृत्यु हुनेमा अर्जुनधारा–४ भाङवारी स्थायी घर भई शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्दै आएकी गंगा राई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रहरीका अनुसार गंगाको कोठामा उनका श्रीमान् पुगेको झोकमा सोही टोलमा डेरा गरी बस्ने सुस्मिता भुसालले रिस उठाई आफ्ना केही साथीहरूलाई बोलाएर गंगामाथि सामूहिक कुटपिट गराएकी थिइन्।

advertisement

मंगलबार राति करिब ११:३० बजे भएको उक्त घटनामा संलग्न भएकाहरूमा ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे, ६० वर्षीया नर्बदा सुनदास र सुस्मिता भुसाल आफैं रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको थियो। तर, उपचारकै क्रममा आज बिहान १:२० बजे उनको मृत्यु भएको हो।

घटनापछि प्रहरीले सुस्मिता भुसाल, उनका श्रीमान् रमेश भुसालसहित कुटपिटमा संलग्न ५ जना महिलालाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाले झापा क्षेत्रको समाजमा ठूलो चासो र चिन्ता उत्पन्न गराएको छ। स्थानीय बासिन्दाहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com