मोरङ । मोरङको रतुवामाई नगरपालिका–६ मा ६० वर्षीया टिकामाया कार्की बस्नेतको विभत्स हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतककै देवर ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार असार २१ गते दिउँसो करिब ४ बजे टिकामाया आफ्नै बारीमा मृत अवस्थामा फेला परेकी थिइन्। बोल्न नसक्ने अवस्थामा रहेकी उनी रहस्यमय तरिकाले मृत भेटिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोली र कोशी अस्पताल विराटनगरबाट गएको फरेन्सिक चिकित्सकको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।
शव परीक्षणका क्रममा टिकामायाको टाउको पछाडि र घाँटीको दायाँ भागमा गहिरो चोट लागेका कारण मृत्यु भएको खुल्न आएको प्रहरीले बताएकाे छ । थप अनुसन्धान गर्दा परिवारभित्र लामो समयदेखि चल्दै आएको अंशबन्डा सम्बन्धी विवाद नै हत्याको मूल कारण भएको खुलेको हो।
प्रहरीका अनुसार अदालतबाट अंशबन्डा सम्बन्धी फैसला आएपछि रिसिइबीका कारण देवर टंकबहादुरले हँसियाको बिँडले प्रहार गरी टिकामायाको हत्या गरेका थिए। उनलाई असार २३ गते आफ्नै घरबाट हत्यामा प्रयोग भएको हँसियासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल उनीमाथि मोरङ जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिएकी छन्।
घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने घरायसी विवादले ज्यानै जाने अवस्था आउँदा आमजनमा पीडा र चिन्ता थपिएको छ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार












प्रतिक्रिया