काठमाडाैं । रसुवागढी क्षेत्रमा मंगलबार बिहान करिब ३ बजे आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका २० जनाको खोजी कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका संयुक्त टोलीले बुधबार बिहानदेखि प्रभावित क्षेत्रमा खोजी कार्य तीव्र बनाएका छन्।
नेपाली सेनाको श्रीनाथ गणसहितको टोली गोसाइकुण्ड–५, चिलिमे हाइड्रोपावर क्षेत्र र रोंगापुल आसपासमा सक्रिय छ। बाढीसँगै पहिरो खसेका टिमुरे सडकखण्डका विभिन्न स्थानमा अवरुद्ध बाटो खुलाउने काम पनि सेना र सुरक्षाकर्मीहरूले गरिरहेका छन्।
बाढीमा परेर बेपत्ता हुनेमध्ये नेपाल प्रहरीका तीन जना, छ जना चिनियाँ नागरिक र बाँकी भन्सार कार्यालयका कर्मचारी तथा सवारी चालक रहेको पुष्टि भएको छ। प्रहरीका सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको पन्ध्रकिलो, त्रिशूली नदी किनारमा फेला परेको छ। हालसम्म ९ वटा शव तथा शरीरका अङ्ग फेला परेका छन् भने तीमध्ये अधिकांशको सनाखत हुन बाँकी छ।
बाढीले चीनसँगको व्यापारिक नाका मितेरी पुल भत्काएको छ भने रसुवागढी भन्सार यार्डमा ठूलो क्षति पुर्याएको छ। भन्सार क्षेत्रमा पार्किङ गरिएको ६४ वटा सवारीसाधन बाढीले बगाएको जनाइएको छ।
सरकारले घटनाप्रति गम्भीर ध्यान दिँदै राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। बाढीबाट साना जलविद्युत् आयोजना, सडक पूर्वाधार र स्थानिय बस्तीहरूमा पनि क्षति भएको प्रारम्भिक अनुमान छ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार












प्रतिक्रिया