काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीलाई संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थापक शक्ति भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले माओवादी केन्द्र संसदमा हाल तेस्रो दल भए पनि संविधान निर्माणदेखि दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, मजदुर र किसानजस्ता उत्पीडित समुदायको पहिचान र अधिकार स्थापनामा माओवादीको अग्रणी भूमिका रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “अहिले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ । तर जतिसुकै सिट भए पनि आजको नेपाली राजनीति र संविधानको संस्थापन पक्ष माओवादी नै हो।”
प्रचण्डले वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्र माओवादी आन्दोलनकै उपलब्धि भएको जिकिर गर्दै अन्य शक्तिहरूलाई प्रतिपक्षको रूपमा प्रस्तुत गरेका छन्। “यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो,” उनले लेखेका छन्।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार












प्रतिक्रिया