काठमाडौं ।  नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सामाजिक सञ्जालमार्फत विदेशी नागरिकता, आपराधिक गतिविधि र राजनीतिक स्वार्थ जोडिएका पात्रहरूप्रति कडा टिप्पणी गरेका छन्। उनले फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा “नक्कली राष्ट्रवादी”को भण्डाफोर गर्दै तीव्र सामाजिक, नैतिक र राजनीतिक कारबाहीको माग गरेका छन्।

बस्नेतले विदेशी भिसामा पलायन भएर आपराधिक गतिविधिमा संलग्न हुँदै नेपाल फर्केर राजनीतिमा सक्रिय हुने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उल्लेख गरेका छन् “जब देश संकटमा पर्छ, केही नागरिकता त्यागेर अमेरिका, जापानजस्ता देशमा बसाइँ सर्छन्; केही अवैध रूपमा मानिस पठाउने, हुण्डी कारोबार गर्ने र सहकारी ठगीमा संलग्न हुन्छन्।”

advertisement

उनले अमेरिका र जापानजस्ता मुलुकमा गैरकानुनी रूपमा बस्दै, त्यहीँका अनुभवको आडमा नेपाल फर्किएर स्वघोषित राष्ट्रसेवक बन्ने प्रवृत्तिको आलोचना गरेका छन्। “देशमा समय अनुकूल बनेपछि ती नै विदेशी भिसामा नेपाल फर्किएर सांसद, मन्त्री बन्न आउँछन्,” उनले लेखेका छन्।

नेता बस्नेतले विदेशी शक्तिको आडमा सेटिङ र नियुक्तिमा प्रभाव जमाउने, भ्रष्टाचारको पैसा संकलन गर्ने र देशको राजनीति दोहोरो चरित्रसहित चलाउनेहरूलाई चिन्ने र तथ्यसहित पर्दाफास गर्ने समय आएको बताएका छन्।

“देशको माटोमा इमानदार भएर बाँच्नेहरूको नै यो देश हो, भ्रम फैलाउने एजेन्टहरूको होइन,” भन्दै उनले जनस्तरबाट ती पात्रहरूको सामाजिक बहिष्कारको अपिल गरेका छन्।

उनको अभिव्यक्ति विशेष रूपमा कुनै व्यक्तिलाई लक्षित नभए पनि हालैको राजनीतिक माहोल र सामाजिक सञ्जालमा सक्रिय केही नेताहरूप्रति संकेत गरेको रूपमा विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com