काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफूलाई मान्यता दिन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ हुन सकेन।
सर्वोच्च अदालतमा न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा रिटको सुनुवाइका लागि पेसी तोकिएको थियो। तर इजलासमा कुल २७ वटा मुद्दा सूचीबद्ध भइरहँदा मुकुलको रिट २०औँ नम्बरमा पर्यो। इजलासले आज ८ मुद्दामात्रै हेर्न सकेपछि बाँकी मुद्दा जस्तै मुकुल ढकालको रिट पनि सुनुवाइमा आउन सकेन।
यसअघि गत असार १२ गते न्यायाधीश कुमार रेग्मीको इजलासले ढकालको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो।
मुकुल ढकालले आफू नै रास्वपाको वैध महामन्त्री भएको दाबी गर्दै, सोही हैसियतमा काम गर्न र गराउन पाउनुपर्ने मागसहित परमादेश र उत्प्रेषण आदेशको माग गर्दै रिट दायर गरेका हुन्।
तर रास्वपाले उनलाई २०८१ साल भदौ ११ गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। यसअघि असार २० गते पार्टी अनुशासनविपरीत अभद्र, अशोभनीय र अनुशासनहीन व्यवहार देखाएको आरोपमा उनलाई महामन्त्री पदबाट निलम्बन गरिएको थियो।
ढकालले असार ४ गते निर्वाचन आयोगमा रास्वपाको केन्द्रीय समिति तथा सदस्यहरूको अद्यावधिक विवरण माग गरेका थिए। जवाफमा आयोगले ढकालकै नाम महामन्त्रीमा देखिएको विवरण अद्यावधिक नभएको जानकारी दिएको थियो।
अब रिटको सुनुवाइ आगामी दिनमा पुनः तोकिनेछ। अदालतको निर्णयले ढकालको दाबीको वैधानिकता पुष्टि गर्नेछ वा खारेज गर्नेछ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार













प्रतिक्रिया