काठमाडौं । राजधानीको तीनकुनेमा राजसंस्थाको पुनःस्थापनाको मागसहित भएको प्रदर्शनपछि फरार रहेका तीन जना प्रतिवादी बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अदालतमा उपस्थित भएका तीनमध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ भने दुई जनालाई धरौटीमा रिहा गरिएको छ।

advertisement

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। त्यस्तै, विनञ्जय थापा र राजेन्द्र जिसीसँग जनही १५/१५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।

उनीहरूमाथि राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

गत चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेको कमाण्डर दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, प्रहरीसँग झडप लगायतका घटना भएका थिए।

उक्त घटनामा पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो भने अर्का प्रदर्शनकारी सबिन महर्जनको गोली लागेर ज्यान गएको थियो।

घटनापछि सरकारी वकिलको कार्यालय काठमाडौंले ६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ, जसमा दुर्गा प्रसाईं पनि छन्। उनी हाल कारागारमा छन्।

यस्तै, सोही मुद्दामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशम्शेर राणा अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन्।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com