काठमाडौं । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पुर्‍याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १ सय २२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले सोही ठाउँमा मात्रै रु ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पुर्‍याएको छ ।

advertisement

यस्तै, त्यस ठाउँको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताए । बाढीका कारण छ घर पहिरोको उच्च जोखिममा परेका छन् भने ठेउलेका पाँच घर जोखिममा परेका छन् । त्यस्तै दुई गोठमा पूर्ण क्षति भएको छ ।

बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ । त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब रु एक अर्ब चार करोड बराबर क्षति भएको अनुमान गरिएको उपप्रमुख शर्माले बताएका छन् ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com