काठमाडौं । पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरणमा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले अब सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी बताए । धरहरा अवलोकनका लागि दिनहुँ मानिसको आकर्षण बढ्दै गएको हुनाले हप्ताको सातै दिन दुई चरणमा सञ्चालन तयारी भएको हो ।
चार करोड राजस्व सङ्कलन
भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।
जेठ मसान्तसम्म सो राजस्व सङ्कलन भएको हो । विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । एकाइका नायब सुब्बा बाघसिंह ओलीका अनुसार धरहरा सञ्चालन भएको यस अवधिमा दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । यसमा १० वर्ष सम्म उमेर समूहका बालबालिकाको संख्या समावेश गरिएको छैन ।
संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि निःशुल्क रूपमा सञ्चालन गर्ने निर्णय गरिएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रीपरिषद् बैठकले सः शुल्क धरहरा खुला गर्ने निर्णय गरेको थियो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति आदेश–२०८१ बमोजिम धरहरा सञ्चालनमा ल्याइएको हो ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार












प्रतिक्रिया