काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार तेस्रो सातासम्म तीन लाख ८० हजार ४९४ मेट्रिक टन मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरे पनि हालसम्म सो परिमाण बराबर मल आयात भएको हो । यस अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले तीन लाख १० हजार ११० मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ७० हजार ३८३ मेट्रिक टन मल आयात गरेका छन् ।

advertisement

दुवै कम्पनीसँग हाल ९४ हजार ७१७ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६७ हजार ५८३ मेट्रिक टन युरिया, १९ हजार २१४ मेट्रिक टन डिएपी र सात हजार ९१९ मेट्रिक टन पोटास मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

तीन हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट ढुवानी भई कोलकाता आइसकेकाले नेपाल आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप २२ हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट कोलकाता आउने क्रममा रहेको र ३० हजार मेट्रिक टन डिएपी कोलकाता आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । धान सिजनका लागि (जेठ–असोज) सम्म एक लाख ६० हजार युरिया, ९० हजार डिएपी, १० हजार मेट्रिक टन पोटास गरेर साढे दुई लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । बर्सेनि बालीमा धान, तरकारी र उखुमा रासायनिक मलको प्रयोग गरिन्छ । चालु आवमा रासायनिक मल खरिद गर्नका लागि २७ अर्ब ९५ करोड रुपियाँ विनियोजन गरिएको थियो ।

मलका लागि बर्सेनि ठुलो रकम छुट्याए पनि माग अनुसार मल आयात नहुँदा धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको छ । धानको सिजन भए पनि मलको आपूर्ति कम हुँदा विभिन्न जिल्लाका किसानले मल पाउन नसकेको गुनासो गरेका छन् ।

छिमेकी मुलुक भारतमा रासायनिक मलको अभाव भई सीमानाकाबाट मल आउन छोडेपछि किसानले मलको अभाव खेप्नु परेको छ । यसअघि सीमानाका नजिक रहेका किसानले भारतबाट मल ल्याउने गरेका थिए ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com