काठमाडौं । तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सातै जना कर्मचारी सम्पर्कमा आएका छन् ।
उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् ।
बुढामगरले कार्यकारी प्रमुखले आफूहरू सकुशल गुल्मीमा रहेको जानकारी दिएको बताए । थबाङ गाउँपालिकाका सात जना कर्मचारी केही दिनअघि रुकुम पूर्वतिर कामको सिलसिलामा निस्किएपछि टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि उनीहरू सम्पर्कमा रहेको बताएका छन् । “मैले हिजो राति १० बजेतिर प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा गरेको थिएँ । उहाँहरूले हामी सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नुभयो । बिहान पनि फेरि सम्पर्क भएको छ । काम सकेर फर्किंदैछौँ भन्नुभएको छ,” उनले भने ।
सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका थिए ।
थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार नै एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया