काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पार्टीभित्र हालै केही नेतामाथि गरिएको अनुशासनको कारबाहीप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णयलाई प्रतिशोधपूर्ण र अपरिपक्व ठहर गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भण्डारीले पार्टीले अपनाएको शैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्। उनले लेखेका छन्, “अनुशासनको कारबाही हो कि प्रतिशोध? आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति !!! नेपाली उखान — ‘पोहोर मरिन् सासू अहिले आए आँसु ! बेमौसमी बाजा !’ गम्भीर आपत्ति !! अपरिपक्व निर्णय तुरुन्त फिर्ता गर !!!”
पार्टीको केन्द्रीय अनुशासन समितिले २०७९ सालको स्थानीय, प्रदेशसभा र संघीय निर्वाचनमा पार्टीका अधिकृत उम्मेदवार तथा समर्थन प्राप्त उम्मेदवारविरुद्ध असहयोग गरेको भन्दै केही नेता तथा कार्यकर्तालाई निष्कासन वा निलम्बन गरेको थियो।
अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार कारबाहीका लागि अडिओ, भिडियो, सामाजिक सञ्जालका गतिविधि लगायत ठोस प्रमाणका आधार लिइएको बताइएको छ। तर सांसद भण्डारीले उक्त कदमलाई राजनीतिक आन्तरिक द्वन्द्वलाई मत्थर पार्ने प्रयास नभई बदनियतपूर्ण संज्ञा दिएका छन्।
उनको चेतावनीसँगै कांग्रेसभित्र अनुशासन र असहमतिका विषयमा थप बहस चर्किने संकेत देखिएको छ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया