काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ। पार्टीले सचिवालय बैठकमार्फत उम्मेदवार छनोट सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो।
बुधबार राजधानीको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि पारित गरी केन्द्रीय समिति सदस्यहरूबाट राय संकलनका लागि पठाउने निर्णय गरेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
महामन्त्री बुर्लाकोटीका अनुसार, पार्टीले अबको केही दिनभित्र कार्यविधिअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ। प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि तोकिएको मापदण्डअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन हुनेछ।
“सचिवालय बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर ३, रुपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि पारित गरेको छ। सो कार्यविधि अब केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ,” उनले भने, “केही दिनभित्र आवेदन मागिनेछ र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी उम्मेदवार छनोट प्रक्रिया अघि बढाइनेछ।”
त्यसैगरी, बैठकले रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही–३ उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी दिने निर्णय समेत गरेको छ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार











प्रतिक्रिया