काठमाडौं । बंगलादेशमा गत वर्ष भएको हिंसात्मक प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले घातक बल प्रयोग गर्न निर्देशन दिएको भनिएको एक अडियो सार्वजनिक भएको छ। बीबीसी आईले सार्वजनिक गरेको सो टेलिफोन संवादको अडियोको प्रमाणिकता पुष्टि भएको बीबीसीले जनाएको छ।

सार्वजनिक अडियोमा प्रधानमन्त्री हसिनाले सुरक्षाकर्मीहरूलाई प्रदर्शनकारीहरू जहाँ देखिए पनि गोली हान्न आदेश दिएको स्पष्ट सुन्न सकिन्छ। उनले “जहाँ भेटिन्छन्, त्यहीँ गोली चलाऊ” भन्ने आदेश दिएकी छन्।

advertisement

बीबीसीलाई प्राप्त जानकारीअनुसार यो अडियो सन् २०२३ जुलाई १८ मा रेकर्ड गरिएको हो, जब हसिना ढाकास्थित सरकारी निवास ‘गणभवन’मा थिइन्। सो अडियो यो वर्ष मार्च महिनाको सुरूमा लिक भएको बताइएको छ। तर, कसले लिक गर्‍यो भन्ने विषय अझै खुल्न बाँकी छ।

बंगलादेशका सरकारी अभियोजकहरूले हाल भारतमा बसिरहेकी हसिनाविरुद्ध मानवताविरुद्धको अपराध अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन्। उनीहरू यो अडियोलाई प्रमाणको रूपमा प्रयोग गर्न चाहन्छन्।

तर, शेख हसिनाको आवामी लिग पार्टीले ती आरोपहरू अस्वीकार गर्दै अडियोको प्रयोग राजनीतिक प्रतिशोधका लागि गरिएको दाबी गरेको छ। पार्टी प्रवक्ताले अडियोमा कुनै गैरकानुनी उद्देश्य नरहेको र आपतकालीन अवस्थालाई ध्यानमा राखेर मात्र निर्देशन दिइएको बताएका छन्।

गत वर्ष बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता युद्धमा लडेकाहरूका सन्तानलाई रोजगारीमा दिइएको आरक्षणको विरोधमा आन्दोलन सुरु भएको थियो। त्यो आन्दोलन क्रमशः फैलँदै गएर राष्ट्रव्यापी हिंसात्मक प्रदर्शनमा परिणत भएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार ती प्रदर्शनहरूमा झण्डै १,४०० मानिसले ज्यान गुमाएका थिए।

यस घटनाले १५ वर्षदेखि सत्ता सम्हाल्दै आएकी शेख हसिनाको शासन अन्त्य गराएको थियो। उनी सत्ताच्युत भएपछि भारत पुगेकी छन् र हाल त्यहीं रहिएकी छिन्। बीबीसीले सार्वजनिक गरेको अडियोले बंगलादेशको राजनीतिमा थप हलचल ल्याउने संकेत देखिएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com