काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र अध्यक्ष केपी शर्मा ओलीविरुद्धको आक्रमण पछिल्लो समय झनै तीव्र भएको आरोप लगाएका छन्। उनले अध्यक्ष ओलीले सरकारको नेतृत्व सम्हालेयता एमालेप्रति पूर्वाग्रही व्यवहार बढेको बताएका छन्।

महासचिव पोखरेलका अनुसार एमाले सरकारमा हुनु धेरैलाई मन नपरेकोले विभिन्न लाञ्छना लगाई हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाउने गरिएको छ। उनले भने, “कहिले सरकार बनाइदेऊ भन्दै बालकोट धाउनेहरू नै अहिले लोकप्रियताको नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा छन्।”

advertisement

उनले राजावादी विचार राख्ने समूह र माओवादी भनेर चिनिने केही तत्वहरू समेत कांग्रेससँग सम्बन्ध सुधार गर्न एमालेलाई मात्र दोष दिने रणनीतिमा लागेको आरोप लगाए। पोखरेलका अनुसार यी तीनवटै शक्ति एमालेलाई कमजोर बनाई कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउन खोजिरहेका छन्।

भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको सन्दर्भमा पोखरेलले पार्टीभित्र केही नेता–कार्यकर्ता आन्तरिक कित्ताकाटमा लागिरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, “यो विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन। त्यसैले अहिले कुनै नेताको पक्षमा कित्ताकाट गर्नुको आवश्यकता छैन।”

उनले नेताहरुलाई आवश्यक काम समयमा गर्न आग्रह गर्दै भने, “नीति र नेतृत्व निर्माण फरक विषय हुन्, त्यसको बुझाइ सबै नेताहरूमा हुनु जरुरी छ।”

त्यस्तै, महासचिव पोखरेलले हालै सम्पन्न भएका जनसंगठनका महाधिवेशनहरूका दस्तावेज सात दिनभित्र केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन पनि दिए।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com