काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले निजी क्षेत्रलाई तत्काल नयाँ स्टक एक्सचेन्ज खोल्न दिने निर्णय जनतालाई ठग्ने अर्को माध्यम मात्र हुने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै उनले हालको पुँजी बजारमा देखिएका कमजोरी, अपारदर्शिता र नियमनको अभावका बीचमा नयाँ स्टक एक्सचेन्ज थप्दा समस्या झनै जटिल हुने बताएका हुन्।
उनले भने, “नयाँ स्टक एक्सचेन्जको अहिले कुनै आवश्यकता छैन। बरु अहिले सञ्चालनमा रहेको धितोपत्र बोर्ड (सेबोन) को क्षमता, पारदर्शिता र कार्यदक्षता अभिवृद्धि गर्नु जरुरी छ।”
शाहीका अनुसार अहिलेको नियामक प्रणाली कमजोर रहेको र बजारमा चलखेल, भित्रका व्यक्तिहरूको स्वार्थ पूर्तिको खेल र लगानीकर्तामाथिको अन्याय बढ्दै गएको अवस्थामा अर्को एक्सचेन्ज खोल्नु गलत दिशातर्फको कदम हुनेछ।
“जबसम्म नियामक संरचना बलियो बनाइँदैन, तबसम्म नयाँ स्टक एक्सचेन्ज खोल्नुको औचित्य छैन,” उनले स्पष्ट पारे, “यस्तो निर्णयबाट केही सीमित समूह मात्र फाइदा लिन्छन् भने आम लगानीकर्ता थप जोखिममा पर्छन्।”
शाहीले पुँजी बजारमा देखिएको अपारदर्शिता र अनियमितता नियन्त्रण गर्न सशक्त नियमन प्रणाली निर्माण गर्न र धितोपत्र बोर्डलाई आधुनिक, जिम्मेवार तथा प्रभावकारी बनाउन सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
उनको भनाइमा, लगानीकर्ताको विश्वास कायम राख्नका लागि बजारको संरचनात्मक सुधार, नियामक निकायको दक्षता वृद्धि र कानूनको कठोर कार्यान्वयन अनिवार्य छ, न कि हतारमा नयाँ एक्सचेन्ज खोल्ने निर्णय।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया