काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गराउनु अब समयसापेक्ष नहुने धारणा व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै उनले उपभोक्ता समितिहरू राजनीतिक दलका कार्यकर्ता भर्ना गर्ने केन्द्रमा परिणत भएको टिप्पणी गरे।

advertisement

सांसद भट्टराईले विगतमा उपभोक्ता समितिबाट हुने विकास निर्माण कार्यहरू ठेकेदार प्रणालीभन्दा प्रभावकारी देखिए पनि पछिल्लो समय यिनै समितिहरूमा अनियमितता, गुटबन्दी र राजनीतिक दुरुपयोग चरम रूपमा देखिन थालेको बताए।

“अघिल्लो समयमा उपभोक्ता समिति प्रभावकारी थियो,” उनले भने, “तर अहिले यी समितिहरू भ्रष्टाचारको अखडा बनेका छन्। राजनीतिक कार्यकर्ताको पदपूर्ति केन्द्र जस्तै भइसकेका छन्, जसले गर्दा दलभित्रै गुटबन्दीको बीउ रोपिएको छ।”

भट्टराईले उपभोक्ता समिति मार्फत हुने कामले राजनीतिक विकृति बढाएको भन्दै अब यसप्रकारको अभ्यासमा पूर्णविराम लगाउनुपर्ने आवश्यकता औँल्याए। उनले यस्ता समितिलाई न्यूनतम सीमामा झार्ने गरी स्पष्ट कानुनी प्रबन्ध गर्नुपर्ने सुझाव दिए।

“अब उपभोक्ता समितिबाट काम गर्न दिनुहुँदैन,” उनले भने, “राजनीतिक कार्यकर्तालाई बिगार्ने थलो बन्न पुगेका यस्ता समितिलाई ऐनमार्फत नियन्त्रण गर्नु जरुरी छ।”

त्यस्तै, उनले सरकारलाई मुलुकभर खानेपानी, सिँचाइ तथा मलको सुनिश्चितताका लागि प्रभावकारी पहल गर्न निर्देशन दिनुपर्ने माग समेत गरे।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com