काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजनालाई प्राथमिकतामा राख्दै तयारी तीव्र रूपमा अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र निर्माण सम्पन्न ‘नेशनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न ‘टिम स्पिरिट’ का साथ काम गर्न आग्रह गरे।

advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको एनपीएलको दोस्रो संस्करण हाल विवाद र अन्योलमा फसेको अवस्थामा प्रधानमन्त्री ओलीले सो प्रतियोगिता समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिए। साथै, उनले खेलकुद क्षेत्रलाई राजनीतिक विवादबाट मुक्त राख्न सबै पक्षलाई सचेत रहन अनुरोध गरे।

प्रधानमन्त्री ओलीले भने, “खेलकुद अब केवल मनोरञ्जनको क्षेत्र मात्रै होइन, यसलाई आम्दानी र व्यवसायिक सम्भावनाको क्षेत्रका रूपमा विकास गर्ने समय आएको छ।”

रियल मड्रिड स्टेडियम अवलोकन र नयाँ रंगशालाको घोषणा

हालैको स्पेन भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रियल मड्रिडको स्टेडियम हेर्ने अवसर पाएको उल्लेख गरे। सोही सन्दर्भमा उनले नेपालको वर्तमान रंगशालाको संरचना अपर्याप्त रहेको भन्दै भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने योजना घोषणा गरे।

राष्ट्रिय खेलकुदको मिति अब नसर्ने स्पष्ट

प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब मंसिरमै सम्पन्न हुने पक्का भएको बताए। उनले पटक–पटक मिति सारिँदा राष्ट्रिय स्तरमै लज्जाको स्थिति सिर्जना भएको उल्लेख गर्दै अब निर्धारण गरिएको मंसिर २ गतेदेखि ९ गतेसम्मको मिति परिवर्तन नहुने स्पष्ट पारे।

राष्ट्रिय खेलकुद परिषद्लाई सबै तयारी समयमै पूरा गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बहानामा मिति सार्न पाइँदैन। यो केवल खेलकुद होइन, राष्ट्रिय प्रतिष्ठाको विषय हो।”

प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्ति र निर्देशनलाई नेपालको खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संकेतका रूपमा लिइएको छ।

 

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com