काठमाडौं । झन्डै एक महिनादेखि सुरु भएको सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन भएको छ ।

सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार विभिन्न पाँच बुँदामा सहमति भएपछि विरोधका कार्यक्रम स्थगन भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विरोधका कार्यक्रम स्थगन भएपछि शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने महासङ्घका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

advertisement

कर र भ्याटका विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने र कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने बेलासम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याट लागु नहुने सहमति भएको छ । व्यवसायीका माग सम्बोध गर्न एक कार्यदल गठन गर्ने र कार्यदलको सचिवालय अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखामा रहने सहमति भएको हो ।

विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ । यस्तै सुनचाँदीको बिक्रीवितरणका सन्दर्भमा स्पष्ट व्यवस्था मिलाउने, स्थानीय सुनचाँदी तथा रत्न आभूषणको सहज पहुँज हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने, वाणिज्य बैँकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्नेलगायतका विषयमा सहमति भएको महासङ्घले जनाएको छ ।

सरकारले बजेटमार्फत सुनको कारोबारमा दुई प्रतिशत बिलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com