काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व सम्हाल्ने उद्देश्यसहित भएको स्पष्ट पारेकी छन्।

बिहीबार इमेज टेलिभिजनलाई दिएकी विस्तृत अन्तर्वार्तामा उनले एमालेको अध्यक्ष बन्ने लक्ष्यले नै आफू राजनीतिमा फर्किएको बताइन्। “तपाईंले भनेको कुरामा सत्यता छ”, पत्रकार जगदिश खरेलको प्रश्नको उत्तर दिँदै उनले भनिन्, “११ औँ महाधिवेशन तोकिएको छैन, तर सार्वजनिक बहस सुरु भइसकेको छ। म पनि त्यही लाइनमा छु।”

advertisement

उनले केपी शर्मा ओलीसँग यस विषयमा पहिले नै कुरा गरिसकेको र एमालेको पार्टी सदस्यता समेत लिइसकेको जानकारी दिइन्।

खरेलले प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभएको हो भन्ने प्रश्नमा भण्डारीले भनिन्, “पूर्वराष्ट्रपतिले पाउने सम्पूर्ण सुविधा त्यागेर म जनताको सेवा गर्न आएको हुँ। अहिले ‘यो होइन, त्यो हो’ भनेर निश्चित गर्ने समय आइसकेको छैन। जे गर्दा देश र जनताका लागि राम्रो हुन्छ, त्यही गर्ने सोचमा छु।”

भण्डारीले पार्टी अध्यक्ष ओलीले अब फेरि अध्यक्ष बन्ने सम्भावना न्यून रहेको दाबी गर्दै भनिन्, “उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली आफूले एउटै कक्षाको परीक्षा दोहोर्‍याएर दिन्न भन्नेजस्तो व्यक्ति हो। त्यसैले उहाँ फेरि अध्यक्षमा दोहोरिनुहुन्छ भन्ने लाग्दैन।”

उनले आफ्नो राजनीतिक पुनरागमनका बारेमा ओलीसँग निरन्तर संवाद भइरहेको र ओलीले पनि सकारात्मक रुपमा लिएको बताइन्। “उहाँले ‘ठीक छ’, ‘सकारात्मक छ’ भन्नुभएको छ। मेरो निर्णयलाई उहाँले हार्दिकतापूर्वक लिएको मैले अनुभव गरेकी छु,” उनले भनिन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनबाट प्रणालीमै असर पर्ने बताएका थिए भने ओलीले संस्थागत सहमति विना भण्डारीको आगमनप्रति असहजता जनाएका थिए।

तर भण्डारीले ती टिप्पणीहरूलाई खारेज गर्दै भनिन्, “म नेपालको छोरी हुँ। अहिले राजतन्त्र छैन, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था छ। यस्तो व्यवस्थामा को कसरी सहभागी हुने भन्ने स्वतन्त्रता सबैलाई हुन्छ। मेरो राजनीतिमा फर्किएको विषय किन यसरी बहसको विषय बनाइएको भन्नेमा म अचम्भित छु।”

उनले पूर्वराष्ट्रपति राजनीतिमा फर्किए पदको गरिमा घट्छ भन्ने तर्कलाई ‘फुर्सदको कुरा’ भन्दै आलोचना गरिन्।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com