काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्यिकीय चुनौती समाधानका लागि सरकार सक्रिय रहेको बताएका छन्। विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हालै सरकारले ‘राष्ट्रिय जनसंख्या नीति २०८२’ स्वीकृत गरेको जानकारी दिएका हुन्।
उनका अनुसार जनसंख्या वृद्धिदरमा क्रमशः गिरावट आइरहे पनि नेपालले युवा जनसांख्यिकीय लाभांशको भरपुर उपयोग गर्न नसकेको बताउँदै यस चुनौतीको दीर्घकालीन समाधानका लागि नीति कार्यान्वयन आवश्यक भएको उल्लेख गरेका छन्।
“नेपालको वर्तमान जनसंख्या बनावट, वितरण र संरचनाले देखाएको अवसर र चुनौतीलाई सम्बोधन गर्न तीनै तहका सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास लिएको छु,” मन्त्री पौडेलले सन्देशमा भनेका छन्।
उनले ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न सकिने वातावरण बनाउनु जरूरी रहेको बताए। साथै, युवाले चाहेजस्तो परिवारको आकार र समुन्नत वातावरण निर्माण गर्दै पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन आजको आवश्यकता भएको धारणा व्यक्त गरे।
राष्ट्रिय जनसंख्या नीतिको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सहयोग, समन्वय र सकारात्मक सुझाव अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री पौडेलले जनसंख्या दिवसको सन्देशलाई व्यवहारमा उतार्न साझा प्रयास आवश्यक भएको बताएका छन्।
“नेपालको जनसंख्यालाई उच्चतम सदुपयोग गर्दै युवापुस्ताको सपना साकार पार्ने अभियानमा हामी सबै एकताबद्ध हुनुपर्छ,” मन्त्री पौडेलको आह्वान छ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया