काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमबीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ।
शुक्रबार दुबै नेताले सहमति पत्रमा हस्ताक्षर गर्दै साउन २ गते पार्टी एकता घोषणा गर्ने उल्लेख गरेका छन्।
सहमति पत्रमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा समानता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने निष्कर्षमा पुग्दै हामीले एकता गर्ने निर्णय गरेका हौँ।”
२०७७ सालमा नेकपा विभाजन भएपछि वामदेव गौतमले एमाले र माओवादीबीच पुनः एकता गराउने उद्देश्यले ‘नेकपा एकता राष्ट्रिय अभियान’को घोषणा गरेका थिए।
तर समयक्रममा कहिले एमालेसँग, कहिले एकीकृत समाजवादीसँग एकता गर्ने चर्चा चलाए पनि अन्ततः उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता गर्ने निर्णय गरेका हुन्।
२०७८ सालमा नेकपा एमालेबाट टुटेर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए। अब गौतमको नेतृत्वमा रहेको अभियान पनि उक्त पार्टीमा समाहित हुने भएको छ।
साउन २ गते एकता औपचारिक रूपमा घोषणा भएपछि दुई पार्टी एकसाथ काम गर्ने छन्, जसले वाम आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्ने नेताहरूको विश्वास छ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया