काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्री पछिल्लो विवादपछि पहिलोपटक एकै मञ्चमा देखिएका छन्।
शुक्रबार कीर्तिपुरमा आयोजित समाजवादी विद्यार्थी संगठन (अखिल)को बैठकमा अध्यक्ष नेपाल प्रमुख अतिथिका रूपमा सहभागी भए भने नेतृ झाँक्री संगठनकी इन्चार्जको हैसियतमा उपस्थित भइन्।
पतञ्जलि योगपीठको जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि नेतृ झाँक्रीले यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा अध्यक्षमाथि कडा टिप्पणी गरेकी थिइन्।
त्यस अवसरमा उनले पार्टीमा ठूलो संकट आएको भन्दै नेतृत्व परिवर्तनको माग राखेकी थिइन्। “अब मरेको सिनु बोकेर हिँड्न सकिन्न,” भन्दै उनले अध्यक्ष नेपालको भूमिकामाथि खुला असन्तोष प्रकट गरेकी थिइन्।
उनको ती भनाइले पार्टीभित्र तरंग ल्याएको थियो। यस्ता परिस्थितिपछि आजको कार्यक्रम दुवै नेताको एउटै मञ्चमा सार्वजनिक उपस्थिति रहेको पहिलो अवसर हो, जसले पार्टीभित्रको गतिरोध कत्तिको मिल्ने वा चुलिने हो भन्ने बहसलाई फेरि ताजा बनाएको छ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया