काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय सभाको बिहीबारको बैठकमा बाेल्दैं रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जानकारी दिएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री खड्काले बाढीले त्रिशूली करिडोरका प्रमुख जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा गम्भीर क्षति पुर्‍याएको बताए।

advertisement

उनका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाटको चिलिमे आयोजना, २१ मेगावाटको त्रिशूली आयोजना र १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजना बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्। यसका साथै अन्य साना तथा सहयोगी संरचनामा पनि क्षति पुगेको मन्त्री खड्काले जानकारी दिए।

बाढीको मूल कारण सम्बन्धमा प्रारम्भिक अनुसन्धानको हवाला दिँदै उनले माथिल्लो जलाधार क्षेत्रमा अवस्थित एक हिमताल विस्फोट भएर आकस्मिक बहाव आएको सम्भावना रहेको बताए।

“सेन्टिनल एसिया प्लेटफर्ममार्फत प्राप्त उपग्रह डेटा अनुसार रसुवा–तिब्बत सिमानाभित्रको लेन्दे खोलास्थित सुपर ग्लेसियर क्षेत्रको आकार घटना अघिको ०.७५ वर्ग किलोमिटरबाट घटेर ०.६० वर्ग किलोमिटरमा झरेको पुष्टि भएको छ,” मन्त्री खड्काले संसदमा भने।

यसबीच, राष्ट्रिय सभाले मन्त्री खड्काद्वारा प्रस्तुत ‘जलस्रोत विधेयक, २०८१’ माथिको प्रस्तावलाई सर्वसम्मतिले विचार गरिने प्रस्ताव पारित गरेको छ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com