काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको सन्तुलित विकास नभए मानव अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। विश्व जनसङ्ख्या दिवसको अवसरमा बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत सार्वजनिक ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिंदै भने, “जनसङ्ख्या बिना राष्ट्रको कल्पना गर्न सकिँदैन। मानव जातिको अस्तित्व र सुखमय जीवनका लागि उपयुक्त नीति तथा कार्ययोजना आवश्यक छ।”
उनले मानव अस्तित्वको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विकासशील राष्ट्रहरूले गोष्ठी र सेमिनार त गर्ने तर अर्कोतर्फ जनविनाशका हतियार उत्पादन गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए। “यस्ता कार्यले मानव सभ्यताको भविष्य नै संकटमा पार्न सक्छ,” उनले चेतावनी दिए।
प्रधानमन्त्री ओलीले २० वर्षपछि मात्र विवाह गर्न सकिने कानुनी व्यवस्था उल्लेख गर्दै समयमै विवाह गरी ३० वर्षको उमेरभित्र तीन सन्तान पाइसक्ने लक्ष्य राख्नुपर्नेमा जोड दिए। “अब ४० कटेपछि रमाउने गीत गाएर समय गुजार्ने होइन, जिम्मेवार ढंगले सन्तान उत्पादनमा लाग्न आवश्यक छ,” उनले स्पष्ट पारे।
उनले पछिल्लो समय “सन्ताले डाँडाकाँडा ढाक्नु हुँदैन” भन्ने भनाइले जनसङ्ख्या घटाउने दिशामा नकारात्मक प्रभाव पारेको भन्दै चिन्ता व्यक्त गरे। “विकसित राष्ट्रहरूमा समेत जनसङ्ख्या ऋणात्मक हुँदै गएको छ, जुन मानव जातिका लागि गम्भीर खतरा हो,” उनले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नवीन जनसङ्ख्या नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै जनसङ्ख्याको दीर्घकालीन सन्तुलन र राष्ट्रिय हित सुनिश्चित गर्न सबै पक्षको समन्वय जरुरी रहेको बताए।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया