काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन पुनर्गठनका लागि वैचारिक तथा राजनीतिक रूपरेखा सार्वजनिक गरेका छन्। माओवादी नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापासँगको पुरानो तस्बिर सामाजिक सञ्जालमा साझेदारी गर्दै भट्टराईले माओवादी आन्दोलनको सन्दर्भमा नयाँ बहस आवश्यक भएको बताएका हुन्।

डा. भट्टराईले विगतका कम्युनिस्ट सत्ताहरू किन असफल भए र संसदीय कम्युनिज्म किन क्रमशः लोप हुँदै गइरहेको छ भन्ने विषयमा वस्तुनिष्ठ विश्लेषणको खाँचो औंल्याउँदै भने, “देश, काल र सन्दर्भअनुसार नयाँ वैकल्पिक राजनीतिको संश्लेषण आजको आवश्यकता हो। यसैले पछिल्लो समय हामीले अघि सारेको नयाँ शक्ति अभियानको मर्म यही हो।”

advertisement

उनका अनुसार वर्तमान विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरिसकेको छ भने नेपाल भूमण्डलीकृत किनारा पुँजीवादको सञ्जालमा बाँधिएको अवस्था छ। यस्तो अवस्थामा विगतको माओवादी विचारधारामा मात्र सीमित भएर समाधान खोज्न नसकिने भट्टराईको धारणा छ। “पछिल्लो ज्ञान, विज्ञान र राजनीतिक विकासलाई आत्मसात् गर्दै नयाँ विचार, दर्शन र रणनीतिको पुनर्संश्लेषण आवश्यक छ,” उनले स्पष्ट पारे।

भट्टराईले माओवादी आन्दोलनलाई सफल आन्दोलनको रूपमा व्याख्या गरे पनि नेतृत्वको कमजोरीले त्यसलाई पूर्ण उपलब्धिमा रूपान्तरण गर्न नसकिएको टिप्पणी गरेका छन्। “शान्ति प्रक्रियापछिको चरणमा पनि प्रचण्डको ढुलमुले र मौकापरस्त नीति एवं अडानका कारण आन्दोलनले थप उपलब्धि हासिल गर्न सकेन,” उनले भने।

त्यसैगरी, नेताहरू टुटे/फुटेकाले आन्दोलन कमजोर भयो भन्ने धारणा प्रति उनले असहमति जनाउँदै त्यसलाई ‘बालसुलभ सोच’ भनेका छन्।

दशवर्षे सशस्त्र माओवादी युद्धका प्रमुख योजनाकारमध्ये एक रहेका भट्टराईले शान्ति प्रक्रियापछि माओवादी मात्रै होइन, माओवाद नै त्यागेको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए। पछि उनले मधेसकेन्द्रित दलहरूसँग सहकार्य गरे पनि त्यो लामो समय टिक्न सकेन। हाल उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नेतृत्व गर्दै वैकल्पिक राजनीतिको पैरवी गरिरहेका छन्।

उनको पछिल्लो प्रस्तावलाई माओवादी आन्दोलनको पुनर्मूल्याङ्कन र वैचारिक पुनर्संरचनाको प्रयत्नका रूपमा विश्लेषण गरिएको छ। राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com