काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले जीवनभरिमा कहिल्यै घुस नलिएको दाबी गरेका छन्।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूविरुद्धको मुद्दा राजनीतिक पूर्वाग्रहसहित दर्ता गरिएको बताएका हुन्। यदि मुद्दा नै लागेकै कारण पार्टीले आफूलाई बिदा गर्नुपर्ने ठान्दछ भने त्यो समेत स्वीकार गर्न आफू तयार रहेको उनको भनाइ थियो।

advertisement

उनले आफूमा पार्टी बनाउने आत्मबल रहेको र चुनौतीका बीच पनि विचलित नभई अघि बढ्ने दृढता व्यक्त गरे।

पतञ्जली जग्गा सट्टापट्टा सम्बन्धी प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएको उल्लेख गर्दै अध्यक्ष नेपालले सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षअघि तामेलीमा राखेको फाइल अहिले राजनीतिक स्वार्थ पूर्तिका लागि पुनः मुद्दा बनाएकोप्रति गम्भीर असन्तोष जनाए।

“अख्तियारले मुद्दा लगाएर पार्टीलाई कमजोर बनाउने र राजनीतिक रूपमा अप्ठ्यारो पार्ने प्रयास गरेको छ,” उनले भने, “तर म अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त छु।”

देश हाल आर्थिक, राजनीतिक र सामाजिक सङ्कटमा फसेको उल्लेख गर्दै अध्यक्ष नेपालले यसको समाधानका लागि वाम ध्रुवीकरण अपरिहार्य भएको बताए। सिद्धान्तमा निष्ठावान, जनतामुखी र परिवर्तनको पक्षधर वाम शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा राख्दै उनले जनताको भरोसा अझै पनि कम्युनिष्ट विचारमा रहेको जिकिर गरे।

“देशको राजनीति सही दिशातर्फ लैजान वामपन्थी शक्तिहरू एकजुट हुनैपर्छ,” अध्यक्ष नेपालले जोड दिए।

उनले परिवर्तनलाई संस्थागत गर्नका लागि सुशासन, रोजगारी सिर्जना र जनतामाथि केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि राखे।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com