स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको जन्मथलो स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा उनको सम्मानमा एक भव्य क्रिकेट रंगशाला निर्माणको थालनी गरिएको छ।
गाउँपालिकाले आरुचौरको थाप्लेमा रहेको सार्वजनिक समथर गौचरनलाई स्तरीय क्रिकेट मैदानको रूपमा विकास गर्न चालु आर्थिक वर्ष २०८१/८२ देखि निर्माण कार्य अगाडि बढाएको हो। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार स्थानीयवासीहरूको जनश्रमदान र गाउँपालिकाको लगानीमा निर्माण कार्य अगाडि बढाइएको छ।
“थालनीको चरणमा मैदान सम्याउने काम भइरहेको छ,” अध्यक्ष तिवारीले बताए, “हाल वर्षाका कारण काम केही रोकिएको छ, मौसम अनुकूल भएपछि तीव्र गतिमा काम अघि बढाइनेछ।”
समुद्री सतहदेखि १,९०७ मिटरको उचाइमा रहेको निर्माणस्थललाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ। मैदानको केन्द्रबाट चारैतिर ४५ मिटर वृत्तमा फैलिएको यस रंगशाला राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सक्ने संरचनामा निर्माण हुँदैछ।
पिच निर्माण तथा अन्य प्राविधिक पक्षमा जिल्ला, प्रदेश र केन्द्रका क्रिकेट विज्ञ, प्रशिक्षक तथा सरोकारवालासँग सल्लाह लिइरहेको गाउँपालिकाले जनाएको छ। अध्यक्ष तिवारीका अनुसार, यो मैदानले लामिछानेको सम्मानसँगै नयाँ प्रतिभाहरूलाई उजागर गर्न प्रेरणा दिनेछ।
“सन्दीपजस्तै अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चम्काउन सक्ने खेलाडी उत्पादनमा यो रंगशाला टेवा पुग्नेछ,” उनले भने, “यसले हाम्रो गाउँको खेलकुद क्षेत्र मात्र नभई पर्यटन विकासमा पनि योगदान पुर्याउनेछ।”
रंगशालाबाट करिब आधा घण्टाको दुरीमा रहेको दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारी नजिकै भएकाले क्रिकेट र पर्यटनलाई एकसाथ अघि बढाउने योजना रहेको पनि अध्यक्ष तिवारीले स्पष्ट पारे।
गाउँपालिकाले रंगशालासँगै खेलाडीहरूका लागि छुट्टै अभ्यास स्थल निर्माण गर्ने तयारी गरेको छ। रंगशाला निर्माण सम्पन्न भएपछि राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्दै स्थानीयस्तरमा खेलकुद गतिविधिलाई व्यापक बनाउने लक्ष्य लिइएको छ।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया