चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा भएको  बस दुर्घटनामा एक वर्ष पुगिसक्दा पनि ३९ जना यात्रु अझै बेपत्ता छन्।
२०७९ असार २८ गते राति आएको भीषण पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा यात्रुबाहक बस अझैसम्म फेला परेका छैनन्।

दुर्घटनामा परेका दुई बसमा कूल ६२ जना सवार थिए। तीमध्ये तीन जना मात्र जीवितै उद्धार गरिएको थियो भने २० जनाको शव फेला परेको छ। बाँकी ३९ जनाको हालसम्म कुनै पत्तो लागेको छैन।

advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए। तिनमध्ये १० जनाको शव फेला परेको छ भने बाँकी १६ जना अझै बेपत्ता छन्। यस बसमा रहेका सात जना भारतीय नागरिकमध्ये दुई जनाको शव भेटिएको छ भने पाँच जना अझै हराइरहेका छन्।

त्यस्तै, बा प्र ०३–००१ ख २४९५ नम्बरको बागमती गणपति डिलक्स बसमा ३६ जना यात्रु थिए। तीमध्ये तीन जना ज्यान जोगाउन सफल भए, १० जनाको शव फेला पारिएको छ भने २३ जना अझै बेपत्ता छन्। उक्त बसमा चार जना भारतीय यात्रु पनि थिए, जसमा तीन जनाको शव भेटिएको र एक जना अझै बेपत्ता रहेको पुष्टि भएको छ।

वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बस एकै समयमा पहिरोसँगै त्रिशूलीमा बगाएका थिए।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डुंगा/गोताखोरको सहयोगमा व्यापक खोजी अभियान चलाइएको थियो। पछि विदेशी गोताखोर टोलीको सहयोगसमेत लिइएको भए पनि हराइरहेका यात्रु र दुवै बसको अवस्था अझै अज्ञात छ।

त्यस दुर्घटनामा परेर मृत्यु भएका २० जनामध्ये केहीको शव त्रिशूली नदीबाट र केही नारायणी किनार तथा भारतसम्म भेटिएको थियो।

घटनाको गम्भीरताका कारण गृह मन्त्रालयले सहसचिव छवि रिजालको संयोजकत्वमा विशेष कार्यदल गठन गरेको थियो।
गृहमन्त्री रमेश लेखकले पद सम्हालेपछि हस्ताक्षर गरेको पहिलो निर्णय यही कार्यदल गठन सम्बन्धी थियो।

कार्यदलले पेश गरेको प्रतिवेदनमा दुर्घटनाको मुख्य कारण पहिरोसँगै आएको बाढी रहेको उल्लेख छ। साथै, सडक निर्माणमा इन्जिनियरिङ मापदण्ड नअपनाइएको, भिरालो क्षेत्रमा कमजोर डिजाइनका साथ सडक खनिएको, टेवा पर्खाल नबनाइएकाले पहिरोले बसलाई बगाएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा प्रत्यक्षदर्शी, बाँच्न सफल यात्रु, सडक विभाग, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवालासँगको छलफलसमेत समेटिएको छ।
दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल क्षतिपूर्ति र बीमा रकम उपलब्ध गराउन, साथै बेपत्ता यात्रुको खोजी कार्य यथासम्भव निरन्तर गर्न सुझाइएको छ।

गृहमन्त्री लेखकले प्रतिवेदनलाई पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सडक सुरक्षाको सुधार, विपद् व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायले गम्भीरतापूर्वक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com