काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आन्तरिक विवाद चुलिँदै गएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको ‘स्वेच्छाचारी र मनोमानी शैली’ विरुद्ध पार्टीभित्रको इतर समूहले छुट्टै भेला आयोजना गरेको छ।
महामन्त्री धवलशम्शेर राणाको संयोजनमा नक्सालस्थित उनको निजी सचिवालयमा आयोजित भेलामा अध्यक्ष लिङ्देनका पछिल्ला निर्णयहरूलाई असंवैधानिक र एकलौटी भन्दै गम्भीर आपत्ति जनाइएको छ।
भेलामा सहभागी नेताहरूले अध्यक्ष लिङ्देनले पार्टी विधानविपरीत काम गर्दै संगठनलाई व्यक्ति केन्द्रित ढंगले सञ्चालन गर्न थालेको आरोप लगाएका छन्। उनीहरू निर्वाचन आयोगमा समेत यस विषयमा लिखित जानकारी दिने तयारीमा रहेको स्रोतले जनाएको छ।
केही दिनअघि मात्र अध्यक्ष लिङ्देनले पार्टी प्रवक्ता सगुन सुन्दर लावतीलाई पदबाट हटाएका थिए। त्यसैगरी, राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई अनुशासन समिति संयोजक पदबाट हटाएर उनको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए। इतर समूहले यी निर्णयहरूलाई विधानविपरीत र अवैधानिक ठहर गरेको छ।
“पार्टी विधानअनुसार यस्ता निर्णयहरू केन्द्रीय समितिबाट प्रस्ताव पारित गरेर मात्र गर्न सकिन्छ,” इतर समूहको तर्क छ, “तर अध्यक्ष लिङ्देनले स्वेच्छाचारी शैलीमा निर्णय गर्दै आएका छन्।”
भेलामा राप्रपाका पूर्वअध्यक्ष तथा निर्देशन समिति प्रमुख डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री एवं कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही, बर्खास्त प्रवक्ता सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्रीहरू प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाहलगायत करिब ५० जना नेताहरू सहभागी थिए।
यस प्रकारको छुट्टै भेलाले राप्रपामा गहिरिँदै गएको गुटबन्दी र नेतृत्वप्रतिको असन्तोषलाई उजागर गरिदिएको छ। पार्टीभित्रको यो कलहले राप्रपाको आगामी रणनीति र सांगठनिक एकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया