काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले “देशमा केही भएको छैन” भन्ने नकारात्मक धारणा फैलाएर युवाहरूलाई भ्रमित गर्ने प्रयास भइरहेकाे बताएका छन्।
शनिबार नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ द्वारा आयोजित एसईई सम्मान समारोहमा बोल्दै उनले युवापुस्तालाई यथार्थ बुझेर विवेकपूर्ण ढंगले विचार गर्न आग्रह गरे।
“देशमा केही भएन भन्ने गलत प्रचार हुन थालेको छ,” सिंहले भने, “जो जे भन्छ, त्यसलाई आँखा चिम्लेर पत्याएर लहैलहैमा लाग्नु हुँदैन। युवाहरूले सत्य–तथ्य बुझ्नुपर्छ, विगतमा के थियो र अहिले के परिवर्तन भएको छ भन्ने कुरा आफ्ना अभिभावक वा अग्रजसँग सोध्दा थाहा हुन्छ। अझै गर्न बाँकी धेरै छ, तर केही पनि भएको छैन भन्ने कुरा तथ्यमा आधारित छैन।”
उपप्रधानमन्त्री सिंहले शिक्षाको क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै, अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा हासिल गर्न सकिने अवस्था बनेको बताए। “हामी विद्यार्थी हुँदा विषय छनोटका विकल्प सीमित थिए,” उनले भने, “तर अहिलेको पुस्ताले नेपालमै बसेर उच्चस्तरीय शिक्षा पाउने अवसर पाएको छ।”
देशको विकास र समृद्धिका लागि सबैको भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले युवाहरूलाई गम्भीर जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरे। “देश निर्माण हाम्रो साझा दायित्व हो,” सिंहले भने, “गम्भीर भएर काम गरौँ, हामी अगाडि बढिरहेका छौं।”
उनले अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता पहिले जस्तो नरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई नेपालमै बसेर उच्च शिक्षा हासिल गर्न प्रेरित गरे। “देशमै बसेर पनि उत्कृष्ट शिक्षा पाउन सकिन्छ,” उनले भने, “त्यसैले देशमै रहेर आफ्नो क्षमता विकास गर्नुस्, देशका लागि योगदान दिनुस्।”
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया