काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा वामपन्थी आन्दोलन विभाजित हुनुको मूल कारण नेकपा (एमाले)ले एकता चाहन नखोज्नु रहेको बताएका छन्।
शनिबार चीन भ्रमणबाट स्वदेश फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमालेकै नेतृत्वमा वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउने सम्भावना अझै पनि जिउँदो रहेको बताए।
“नेपालमा हाल सबैभन्दा ठूलो वामपन्थी समूह एमाले हो,” खनालले भने, “यदि एमालेले चाह्यो भने अरू वामपन्थी शक्तिहरूलाई समेटेर व्यापक एकता सम्भव छ। तर, एमाले आफैँ एकता गर्न इच्छुक नदेखिएकाले अहिलेको वाम आन्दोलन टुक्रिएको अवस्थामा पुगेको हो।”
एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले वाम एकताको मार्ग खुला रहेको र त्यसका लागि नेकपा एमालेको अग्रसरता आवश्यक रहेको धारणा राखे। “एकताको प्रस्ताव एमालेबाट आयो भने ठूलो संख्याको वाम शक्ति एक ठाउँमा आउने सम्भावना प्रष्ट देखिन्छ,” उनले भने।
त्यसैगरी, खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशलाई सकारात्मक रूपमा लिएको बताए। “उहाँ राजनीतिमा फर्किएर वाम शक्तिहरूलाई एकतामा ल्याउने पहल गर्नुहुन्छ भने त्यो स्वागतयोग्य छ,” खनालले उल्लेख गरे।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया