काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति राज्यबाट ज्यादती भएको आरोप लगाएका छन्।
शनिबार (असार २८) चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले लामिछानेले गल्ती नै नगरेको भन्न नसक्ने भए पनि, उनीमाथि राज्यका निकायबाट अनावश्यक दबाब र ज्यादती भइरहेको बताएका हुन्।
“रवि लामिछानेले कुनै गल्ती या कमजोरी गरेका छैनन् भन्ने प्रमाण मसँग छैन,” खनालले भने, “तर, गल्तीको नाममा उहाँमाथि जुन प्रकारले व्यवहार भइरहेको छ, त्यो राज्यबाट हुने ज्यादतीजस्तो लागिरहेको छ।”
सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा अदालतको आदेशअनुसार रवि लामिछाने हाल थुनामा छन्। तर खनालले सो मुद्दालाई लिएर भइरहेको सरकारी हस्तक्षेप र प्रक्रिया सवाल उठाएको बताएका छन्।
उनका अनुसार, लोकतन्त्रमा कानुनी प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्छ, तर यस घटनामा राज्यको व्यवहार सोही मापदण्डअनुरूप भएको देखिँदैन। “न्याय सुनिश्चित गर्न स्वतन्त्र र निष्पक्ष प्रक्रिया आवश्यक हुन्छ,” उनले भने, “तर रवि लामिछानेमाथि भइरहेको व्यवहार त्यो सन्दर्भमा न्यायोचित देखिँदैन।”
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया