काठमाडौं ।  विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि चार वर्षदेखि लगाउँदै आएको ‘कन्ट्रोल फन्डिङ’ अर्थात् आर्थिक नियन्त्रण हटाएको छ।

फिफाले २०२१ मार्च १५ देखि लागू गरेको उक्त प्रतिबन्ध आर्थिक अपारदर्शिता र सम्भावित भ्रष्टाचारको आशंकाका कारण लगाइएको थियो। त्यसपछि फिफाले एन्फालाई दिने सहयोगलाई आफैंले नियमन गर्दै खर्च गर्न दिने व्यवस्था थियो।

advertisement

तर हालै सम्पन्न फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (GACC) को बैठकले उक्त निर्णय फुकुवा गरेको एन्फाले जनाएको छ।

एन्फाका अनुसार, अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिले देखाएको आर्थिक पारदर्शिता, सुशासन र प्रतिबद्धताप्रति फिफाले विश्वास जनाउँदै उक्त प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

फिफाको निर्णयपछि अब एन्फाले स्वतन्त्र रूपमा फिफाबाट प्राप्त आर्थिक सहयोग प्रयोग गर्न पाउनेछ।

एन्फाले शनिबार जारी गरेको विज्ञप्तिमा, “संस्थागत सुधार, पारदर्शिता र जिम्मेवार नेतृत्वप्रति गरिएको प्रयासको परिणामस्वरूप फिफाले विश्वास व्यक्त गर्दै सहयोग स्वतन्त्र रूपमा खर्च गर्न पाउने व्यवस्था गरेको छ,” भनिएको छ।

यसअघि पनि एन्फालाई सन् २०२४ को अक्टोबर २९ मा एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड प्रदान गरिएको थियो।

विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ जुन २० मा निर्वाचित कार्यसमितिले सुशासनको लक्ष्य लिएर थालेको यात्राले आज फिफाको विश्वास जित्दै नयाँ मोड लिएको छ।”

वर्तमान नेतृत्वले विभिन्न प्रकारका षड्यन्त्र, असहयोग र आरोपहरूलाई कामबाट जवाफ दिएको दाबी गर्दै एन्फाले सफलताको श्रेय सदस्य संघ–संस्थाहरू, क्लबहरू, प्रशिक्षक, खेलाडी, रेफ्रीलगायत सम्पूर्ण संलग्न पक्षलाई दिएको छ।

महिला र पुरुष राष्ट्रिय टोलीले हालै देखाएको प्रदर्शनको चर्चा गर्दै, एन्फाले महिला विश्वकप २०३१ मा नेपालको सम्भावित सहभागिताबारे उत्साहजनक संकेत मिलेको जनाएको छ।

अब आर्थिक सहयोग स्वतन्त्र रूपमा प्राप्त हुने भएपछि एन्फाले ग्रासरुट, स्कुलस्तरीय, उमेर समूह, महिला–पुरुष लिग, प्रेसिडेन्ट लिग लगायतका प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

साथै, काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणमा प्रधानमन्त्रीको प्रतिबद्धता प्राप्त भएको भन्दै आभार व्यक्त गर्दै एन्फाले पारदर्शिता र सुशासनका आधारमा फिफा र एएफसीको विश्वास जित्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ।

 

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com