काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिले अन्ततः झाँक्रीलाई नै नोक्सानी पुगेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले झाँक्रीले सार्वजनिक रूपमा दिएको टिप्पणीले उनको व्यक्तिगत र राजनीतिक छविलाई असर पारेको बताए। “उहाँले बोलेको कुरा सबैलाई थाहा छ। जुन किसिमले अध्यक्ष नेपाललाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरियो, त्यसले उहाँकै छविमा नकारात्मक असर परेको छ,” पाण्डेले भने, “माधव नेपालजस्तो व्यक्तिलाई सिङ्गो देशले भ्रष्टाचारी भनेको छैन। यस्तो मान्छेलाई ‘मरेको सिनो’ भन्ने शब्द बोल्नु नै गलत हो। मानवीय मर्यादाविपरीत छ।”
पाण्डेले यसबारे पार्टी सचिवालयमा औपचारिक छलफल भएको जानकारी दिँदै भने, “हामीले छलफल गरेका छौं। यदि उहाँ (झाँक्री)ले लिखित रूपमा भविष्यमा यस्तो भाषा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभयो भने स्पष्टीकरणलाई माफ गर्न सकिने वातावरण बनाउने सोचमा छौं।”
कार्यक्रममा पाण्डेले पूर्वउपप्रधानमन्त्री वामदेव गौतमसँग पार्टी एकताको विषयमा लामो समयदेखि छलफल हुँदै आएको खुलासा गर्दै अन्ततः सहमति जुटेको जानकारी पनि दिए।
“वामदेवजीसँग एक वर्षदेखि कुराकानी चलिरहेको थियो। अब सहमति बनेको छ,” उनले भने, “साउन २ गते राष्ट्रिय सभा गृहमा एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ। उहाँको प्रस्ताव गम्भीर र स्वीकार्य खालको छ, त्यसैले हामी आशावादी छौं।”
सचिव पाण्डेले हालको सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। “सरकार गठन भएको एक वर्ष नाघिसक्यो, तर उपलब्धि के हो भन्नेमा प्रश्न उठ्न थालेको छ,” उनले भने, “७ बुँदे सहमति अनुसार बनेको सरकारले विकास र सुशासनका क्षेत्रमा अपेक्षित गति दिन सकेको देखिँदैन।”
उनले गभर्नर नियुक्ति लगायतका ढिलासुस्तीपूर्ण निर्णयहरू उदाहरण दिँदै भने, “तीन महिनासम्म गभर्नरविहीन रहनु सामान्य होइन। नियमित काम त भइरहेको छ, तर जनतालाई महसुस हुने गरी प्रभावशाली काम हुन सकिरहेको छैन।”
पाण्डेले वर्तमान सरकारलाई जनअपेक्षाअनुसार परिणाममुखी बन्न आग्रह गरे।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया