काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले पार्टीमाथि भइरहेको राजनीतिक प्रतिशोध र आक्रमणले पार्टीलाई कमजोर होइन, अझ बलियो बनाउँदै लगेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति रवि लामिछानेमाथिको कारबाही र आरोपहरूलाई आगामी निर्वाचनका लागि ‘२०८४ को चुनावी जग’ को रूपमा ब्याख्या गरे।

“रवि लामिछानेलाई जतिसुकै दुःख दिइयोस्, जतिसुकै षड्यन्त्र र आक्रमण गरियोस्, त्यसले पार्टीलाई झन् एकताबद्ध बनाएको छ,” ढकालले भने, “२०८४ सालको निर्वाचनमा दुई-तिहाइको बलियो आधार तयार हुँदैछ।” उनले लामिछानेलाई ‘निर्भीक र दृढ नेतृत्व’को रुपमा चित्रण गर्दै पार्टीले राजनीतिक द्वेषको सामना गरिरहेको बताए।

advertisement

ढकालले पछिल्लो समय संसदमा सांसद सोबिता गौतमले उठाएको ‘स्पेन काण्ड’ सम्बन्धी प्रश्नलाई लिएर परम्परागत दलहरू असहज बनेको पनि दाबी गरे। “भ्रष्टाचारको विरोध गर्नु गुनाहे जस्तो मान्ने, आफूमाथि आरोप लागेपछि चुप लाग्ने प्रवृत्ति देखिएको छ,” उनले भने, “स्पेन काण्डमा नाम आउन थालेपछि कोही बोलेका छैनन्, तर हामीले भनेका कुरा सत्यका आधारमा छन्।”

उनले पार्टीको लक्ष्य शक्तिशाली बहुमत प्राप्त गरेर देशबाट संगठित अपराध र भ्रष्टाचार उन्मूलन गर्नु रहेको बताए। “२०८४ मा जब हामी बहुमतसहित सत्तामा पुग्छौं, त्यतिबेला अपराध र भ्रष्टाचारमा संलग्नहरूलाई कानुनी कठघरामा उभ्याउनेछौं,” ढकालले दृढ स्वरमा भने।

उनको भनाइमा, अहिले भइरहेको आरोप र कारबाहीहरू रास्वपाको आगामी यात्रालाई रोक्न होइन, अझ सुदृढ बनाउने उर्जा स्रोत बन्दै गइरहेका छन्।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com