काठमाडौं । नेकपा (बहुमत)ले अफताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्यायालयमा कालोमोसो प्रहार गर्ने आफ्ना नेताहरूलाई सार्वजनिक रूपमा सम्मान गरेको छ। शनिबार राजधानीको संवाद डबलीमा पार्टीको बागमती प्रदेश (३ नम्बर ब्यूरो)ले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ती कार्यकर्ताहरूलाई स्वागत तथा अभिनन्दन गरिएको हो।

पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले जनताको पक्षमा, अन्याय र भ्रष्टाचारविरुद्ध आवाज उठाउने साहसी कार्यकर्ताहरूलाई बधाई दिँदै भने, “आज राज्यका तीनवटै अङ्गमा भ्रष्टाचार मौलाउँदै गएको छ, यस्तो अवस्थामा हामीले प्रतिरोधको अभियान सुरु गरेका छौँ।”

advertisement

कालोमोसो टोलीका सदस्य एवं पार्टी केन्द्रीय सदस्य अभिनाश कुँवरले प्रहरी हिरासत र जेल बसाइका अनुभव बाँड्दै आन्दोलन झन बलियो बनेको बताए। “२४ दिन हिरासत र ४ दिन कारागार बस्दा हामीले थुप्रै कुरा सिक्यौँ,” कुँवरले भने, “जनताको पक्षमा आवश्यकता परे मोसो मात्र होइन, त्यसभन्दा कडा प्रतिकार गर्न पनि तयार छौँ।”

सोही घटनामा संलग्न अर्का नेता पदम मगरले राज्यसंस्थाहरूले न्यायमा खेलबाड गर्न थालेको आरोप लगाउँदै अन्याय र अत्याचारविरुद्ध संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरे।

गत जेठ २९ गते वीरगन्ज उच्च अदालतमा अफताव आलमलाई सफाइ दिने फैसलापछि अदालतको इजलासमै पुगेका तीन जनाले न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए। उनीहरू त्यही आरोपमा पक्राउ परेका थिए।

पार्टीले यस कार्यलाई ‘जनताको न्यायको पक्षमा उभिएको साहसी कदम’ भन्दै समर्थन जनाएको छ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com