काठमाडौं ।  नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकिएकोप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्।

शुक्रबार बसेको उक्त बैठक नेपालको इतिहासमै सबैभन्दा छोटो समयमै सकिएको हुनसक्ने भन्दै बस्नेतले यसलाई ‘फास्टफुड मिटिङ’को संज्ञा दिएका छन्। उनले फेसबुकमार्फत भनेका छन्, “साढे ६ महिनापछि टुप्लुक्क बसेको बैठक आन्तरिक कलहकै कारण ‘फास्टफुड मिटिङ’ बनेर सकियो। अरू सदस्यलाई मुख खोल्न त परै जाओस्, सास फेर्न पनि फुर्सद दिइएन।”

advertisement

महानगर प्रमुख बालेन शाहप्रति संकेत गर्दै बस्नेतले बैठकको छोटो अवधिलाई लोकतान्त्रिक अभ्यासभन्दा सेलिब्रिटी प्रवृत्तिको घमण्डको रूपमा व्याख्या गरेका छन्। उनले भनेका छन्, “जनताले ‘युवा नेतृत्व’ भन्दै जुन छलफल, सहकार्य र समन्वयको सपना देखेका थिए, त्यो सपना पनि ४५ सेकेन्डमै सिध्याइयो।”

बस्नेतले बालेन शाहलाई व्यङ्ग्य गर्दै ‘स्टन्टबाज मेयर’को संज्ञा दिँदै केहीले भविष्यको प्रधानमन्त्रीका रूपमा देख्ने कल्पनासमेत व्यर्थ हुने संकेत गरेका छन्।

उनले एक व्यक्ति केन्द्रित निर्णय प्रक्रियाले लोकतान्त्रिक मूल्य-मान्यतालाई खतरामा पार्ने भन्दै महानगरको आगामी दिशाबारे प्रश्न उठाएका छन्।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com