काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेविरुद्ध लगाइएको सहकारी ठगी मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेकी छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले लामिछानेविरुद्धको मुद्दा सत्ताको दुरुपयोगमार्फत जबर्जस्ती चलाइएको आरोप लगाइन्। उनले संसदीय छानबिन समितिको प्रतिवेदनमा समेत लामिछानेको संलग्नता नदेखिएको उल्लेख गर्दै मुद्दा नियोजित रूपमा बनाइएको स्पष्ट पारिन्।

advertisement

‘सहकारी छानबिन समितिको प्रतिवेदनको पृष्ठ ४४९ मा रवि लामिछानेको संलग्नता देखिएन भनेर स्पष्ट लेखिएको छ,’ गौतमले भनिन्, ‘त्यसो भए मुद्दा राजनीतिक बदला हो कि होइन ? अब त जनताले नै निर्णय गर्नेछन्।’

गौतमले हाल भइरहेको हस्ताक्षर संकलन अभियान रवि लामिछानेलाई छुटाउन होइन, उनमाथि भएको अन्यायको विरोधमा जनएकताको प्रदर्शनका लागि हो भन्दै हस्ताक्षर अभियानलाई राजनीतिकरण नगर्न आग्रह गरिन्।

‘हामीलाई सोध्नुहुन्छ, हस्ताक्षर गरेर रवि छुट्छ र?’ उनले भनिन्, ‘छुटाउने वा नछुटाउने तालाचाबी त तपाईँहरूसँग छ, तर जनताले न्यायको पक्षमा हस्ताक्षर गर्छु भने त्यसमा के आपत्ति?’

सांसद गौतमले रास्वपाको तीव्र उदय र जनप्रतिनिधिहरूको प्रभावशाली उपस्थिति पुराना दलहरूलाई असहज भएको तर्क पनि गरिन्। ‘रास्वपाको उदयले पुराना दलहरूमा हडबडाहट ल्याएको छ,’ उनले भनिन्, ‘तर अबको निर्वाचनमा नेतृत्व रास्वपाले गर्नेछ भन्ने तपाईंहरूले मनन गर्नुहोस्।’

उनको भनाइमा, सत्ता र शक्तिको आडमा गरिएको बदनियतपूर्ण मुद्दाबारे जनताले स्पष्ट देखेका छन् र आगामी दिनमा यसको जवाफ पनि दिनेछन्।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com