भक्तपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिल्यै पुराना नहुने भन्दै एमाले आज पनि ऊर्जाशील र नौजवान पार्टी रहेको दाबी गरेका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले केही समयदेखि पुराना दलहरू समाप्त हुँदैछन् र नयाँ दलहरूले स्थान लिँदैछन् भन्ने भ्रम फैलाइएको टिप्पणी गरे।

advertisement

उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ दलहरू यही भ्रममा आश लगाएर बसेको उल्लेख गर्दै भने, “पुराना दलहरू कहिले सकिएलान्, अनि हामी त्यही ठाउँमा छिरौँला भन्ने सोच रास्वपाले राखेको छ। तर, केवल दाबी गरेर मात्रै नयाँ दल हुँदैन, नयाँ हुनुको प्रमाण दिन सक्नुपर्छ।”

उनका अनुसार दल पुरानो हुनु भनेको त्यसको म्याद सकिनु होइन, बरु इतिहास, योगदान र निरन्तर रूपान्तरणको प्रतीक हो। उनले भने, “राजनीतिक दलहरू मान्छेझैँ बूढा भएर मर्दैनन्। राजनीतिक दल त सैद्धान्तिक स्पष्टता र जनताको विश्वासमा जीवन्त रहन्छ। एमाले ७० वर्ष पुरानो भए पनि यो आज पनि नौजवान छ। कांग्रेस पनि नौजवान नै हो। कतिपय सन्दर्भमा त रास्वपाभन्दा अझै बढी सक्रिय र जिम्मेवार छ।”

भट्टराईले एमालेले प्रत्येक राजनीतिक सङ्कटमा आत्मसमीक्षा गर्दै सुधार र रूपान्तरण गरिरहेको उल्लेख गर्दै थपे, “हाम्रो पार्टी समयअनुसार विचार र संरचनामा परिवर्तन गर्न सक्षम छ। यही लचिलोपनले हामीलाई आजसम्म कायम राखेको छ।”

उनले निष्कर्षमा भने, “राजनीतिक दलको मृत्यु हुँदैन, ती पुनःगठित हुँदै, पुनर्जीवित हुँदै जान्छन्। त्यसैले ‘पुरानो सकियो, नयाँ आयो’ भन्ने कल्पना केवल प्रचारको भाष्य मात्र हो, यथार्थ होइन।”

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com