काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले ‘मान्छे मारेको स्वीकार गर्नेहरूलाई कानुनले छुँदै नछोएको’ भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै गम्भीर टिप्पणी गरेका छन्।

शनिबार  काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै चौधरीले आफूलाई अझै पनि ‘टीकापुर हत्याकाण्डको दोषी’ भन्दै गाली गरिने गुनासो गरे।

advertisement

“घटनाका बेला म घटनास्थलमै थिइनँ, तर मलाई सबैभन्दा ठूलो हत्याको आरोप लगाइयो,” उनले भने, “तर जसले खुलेआम मान्छे मारेको स्वीकार गरेका छन्, उनीहरू आजसम्म कानुनी दायरामा पनि परेका छैनन्। उनीहरू सम्मानितजस्तै सत्तामा बसिरहेका छन्।”

उनले कुनै नाम नलिइकनै माओवादी अध्यक्ष प्रचण्डतर्फ इङ्गित गर्दै सो कुरा राखे। चौधरीको भनाइ थियो — न्याय मर्ने देशमा निर्दोषहरूलाई दोषी बनाउने र दोषीहरूलाई सम्मानित बनाउने प्रवृत्तिले गम्भीर अन्याय भएको छ।

“हामीजस्ता नमार्ने थारूहरूलाई हत्यारा भनिन्छ, तर मारेको स्वीकार गर्नेहरू सत्ता र शक्तिमा छन्। यति ठूलो विडम्बना कुन लोकतन्त्रमा हुन्छ?” चौधरीले प्रश्न गरे।

उनको भनाइले टीकापुर घटनाको सन्दर्भ पुनः चर्किएको छ, जहाँ चौधरी आफैं लामो समयसम्म दोषीको रूपमा कारागारमा बसेका थिए। अहिले पनि उनले आफूप्रति भइरहेको आरोप र व्यवहारलाई गहिरो अन्यायको संज्ञा दिएका छन्।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com