काठमाडौं । सहरी विकास मन्त्रालयमातहतका निकायबाट सञ्चालित आयोजनाको अनुगमन अब मन्त्रालयको ‘एक्सन रुम’ बाट हुने भएको छ । आयोजनाको अनुगमनका लागि मन्त्रालयमा ‘एक्सन रुम’ निर्माण गर्ने तयारी भइरहेको छ ।
आयोजनाको निर्माणमा हुने गरेका ढिलासुस्ती र गुणस्तरीयताबारे उठ्दै आएको प्रश्नको समाधानका लागि सिंहदरबारस्थित मन्त्रालयबाट नै अनुगमन गर्न र सम्बन्धित आयोजनाका प्रमुखसँग संवाद गर्न ‘एक्सन रुम’ निर्माण गर्ने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले मन्त्रालयमातहत निर्माणाधीन आयोजनाको दैनिक अनुगमन गर्ने प्रयोजनका लागि मन्त्रालयमा आगामी साउन १ गतेदेखि ‘एक्सन रुम’ सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताए ।
प्रवक्ता मैनालीका अनुसार ‘एक्सन रुम’ मा बन्ने ‘टेलिप्रिजेन्ट’ प्रणालीमार्फत मन्त्रालयबाट सात वटै प्रदेशमा निर्माणाधीन आयोजनाको प्रत्यक्ष अनुगमन गर्नुका साथै आयोजनाका प्रमुखसँग प्रत्यक्ष संवादसमेत गर्न सकिने छ । ‘एक्सन रुम’ मा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक ९स्पिकर० जडान गरिने छ ।
‘टेलिप्रिजेन्ट’ का माध्यमबाट मन्त्री वा सचिवले आयोजना प्रमुखसँग प्रत्यक्ष संवाद र बैठक गरेपछि आवश्यक कामबाहेक आयोजनाका प्रमुख मन्त्री वा सचिव भेट्न काठमाडौँ आउनुपर्दैन । यसरी दैनिक अवलोकन र संवाद हुने भएपछि काममा गुणस्तरीयता कायम हुनुका साथै तीव्रता प्रदान हुने विश्वास गरिएको छ । मन्त्री वा सचिवले आयोजनाको सामूहिक वा एक्लाएक्लै अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
‘एक्सन रुम’ बाट आयोजना स्थलमा जडान गरिएको क्यामेराको सहयोगले कुन आयोजनाको के कस्तो प्रगति भइरहेको छ भन्ने जानकारी लिन सकिने छ ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया