काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि लागू हुने गरी मेक्सिको र युरोपेली युनियन (ईयू) बाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत ट्यारिफ (आयात शुल्क) लगाउने घोषणा गरेका छन्।
शुक्रबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनलाई पठाइएको पत्रमा ट्रम्पले युरोपेली संघसँगको व्यापारिक सम्बन्ध वर्षौँको छलफलपछि पनि सन्तुलित बन्न नसकेको भन्दै कडा असन्तुष्टि जनाएका छन्। उनले लेखेका छन्, “हामीले युरोपेली संघसँगको व्यापारिक सम्बन्ध सुधार्न वर्षौं प्रयास गर्यौं, तर तपाईंहरूको भन्सार, गैर-भन्सार नीति र व्यापार अवरोधका कारण हाम्रो व्यापारमा दीर्घकालीन घाटा आइरहेको छ। दुर्भाग्यवश, हाम्रो सम्बन्ध अझै पनि पारस्परिकताको दृष्टिले निकै टाढा छ।”
राष्ट्रपति ट्रम्पले आयातमा कर बढाउने निर्णयलाई कडाइका साथ लागू गर्ने चेतावनी दिँदै भनेका छन्, “यदि तपाईंहरूले बदला स्वरूप ट्यारिफ बढाउनु भयो भने, त्यसमा हामी ३० प्रतिशत थप्नेछौँ।”
अमेरिकाको यो निर्णयप्रति युरोपेली युनियन र मेक्सिकोले गहिरो निराशा व्यक्त गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष लेयनले अमेरिकाको निर्णयले अटलान्टिक क्षेत्रका उद्योग, उपभोक्ता र सेवा प्रवाहमा नकारात्मक असर पार्ने बताउँदै आवश्यक कूटनीतिक र प्रक्रियागत कदम चालिने चेतावनी दिएकी छन्। उनले भनिन्, “हामी अझै पनि १ अगस्टभन्दा अघि सहमतिको उपाय खोज्न प्रयत्नरत रहनेछौं।”
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार, इयू र मेक्सिको अमेरिकाका प्रमुख व्यापार साझेदारहरू हुन्, र ट्रम्पको ट्यारिफ नीतिले विश्व व्यापार सन्तुलनमै ठूलो असर पार्न सक्नेछ।
यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले यही हप्ता जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आयात हुने सामानहरूमा पनि नयाँ आयात शुल्क लगाउने तयारीमा रहेको घोषणा गरेका छन्।
ट्रम्पको यो निर्णयले आगामी दिनमा अमेरिका र उसका परम्परागत साझेदार राष्ट्रहरूबीचको व्यापार सम्बन्ध थप जटिल र तनावपूर्ण बन्ने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार













प्रतिक्रिया