काठमाडौं । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोगमा र वान हार्ट वर्ल्डवाइडको समन्वयमा क्यान्सर उपचारका लागि आवश्यक औषधि तथा सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरिएको हो।

advertisement

स्वास्थ्य मन्त्रालयले ती औषधिहरू आइतबार देशका चार प्रमुख क्यान्सर अस्पतालहरू—विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) र वीर अस्पताल (काठमाडौं)—मा वितरण गरिसकेको छ।

उक्त औषधिहरू असार २७ गते (शुक्रबार) नेपाल आइपुगेका थिए, जसलाई सोही दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले सुरक्षित भण्डारणमा राखेको थियो।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सर एक जटिल र खर्चिलो रोग भएकाले औषधि पहुँचबाहिर रहेको उल्लेख गरे। “क्यान्सर उपचारको औषधि महँगो छ, र गरिब तथा विपन्न नागरिकका लागि अझै बढी दुर्गम,” उनले भने, “यसले धेरै नागरिकलाई राहत मिल्नेछ भन्ने हाम्रो अपेक्षा छ।”

मन्त्री पौडेलका अनुसार, औषधिहरूमा राज्यको कुनै आर्थिक लगानी छैन, तर जनताको हितमा सरकारले गैरसरकारी सहयोगमार्फत राहत पुर्‍याउने प्रयासस्वरूप यो पहल गरिएको हो।

उनले नेपालमा अझै धेरै नागरिकलाई निःशुल्क उपचार सेवा बारे जानकारी नहुँदा उनीहरू उपचारबाट बञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै लक्षित वर्गसम्म जानकारी पुर्‍याउने कार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

“यी औषधिहरू स्वास्थ्य सेवा विभागको समन्वयमा सम्बद्ध अस्पतालमार्फत निःशुल्क उपलब्ध गराइनेछ,” मन्त्री पौडेलले स्पष्ट पारे, “यसको निरन्तर आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै जानेछौँ।”

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर लगायतका गम्भीर स्वास्थ्य समस्यामा प्रयोग हुने औषधि तथा सामग्रीहरू निःशुल्करूपमा क्यान्सर उपचारमा संलग्न अस्पतालहरूमा उपलब्ध गराइनेछ।

मन्त्रालयले भविष्यमा पनि यस्ता औषधिहरू नियमित रूपमा ल्याउने र देशभरका क्यान्सर पीडितहरूलाई राहत दिने योजनालाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com