काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट पेस गर्न नसकेकोमा माफी मागेकी छिन्।
आइतबार बसेको महानगरपालिकाको १७औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रमुख डंगोलले महानगरवासी र सरोकारवाला निकायहरूसँग क्षमा मागिन्।
“समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेकोमा व्यक्तिगत रूपमा र नगरसभा सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवालासँग क्षमायाचना गर्दछु,” उनले भनिन्।
डंगोलले पछिल्लो समय महानगरभित्र केही अविश्वास र तिक्ततापूर्ण अनुभव देखिए पनि ती मन्थन हुँदै समाधानतर्फ उन्मुख भएको बताइन्। “विगतमा आरोप–प्रत्यारोप भए, केही तितामिठा अनुभव भए, तर ती अनुभवबाट सिक्दै आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं,” उनले भनिन्।
संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको बजेट पेस गर्नुपर्ने व्यवस्था छ। तर, काठमाडौं महानगरमा देखिएको आन्तरिक विवादका कारण बजेट ढिलो गरी पेस भएको हो।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया